काठमाडौं, श्रावण २६ ।भारतको नयाँदिल्लीमा निधन भएका नेपाली चलचित्रका लोकप्रिय नायक श्रीकृष्ण श्रेष्ठको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ दाहसंस्कार गरिएको छ ।
पशुपति आर्यघाटमै उपप्रधानमन्त्री प्रकाशमान सिंह र संचारमन्त्री डा. मिनेन्द्र रिजालले स्वर्गीय श्रेष्ठको पार्थिब शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए भने नेपाल प्रहरीको एउटा टुकडीले सलामी दिएको थियो ।श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्न हजारौंको संख्यामा प्रशंसक, शुभेच्छुक तथा सर्वसाधारण आर्यघाट पुगेका थिए । गत शनिबार राती नयाँ दिल्लीस्थित गंगाराम अस्पतालमा उपचारका क्रममा निधन भएका ४७ बर्षिय श्रेष्ठको शव एअर इण्डियाबाट हिजो अपराह्न काठमाडौं ल्याइएको थियो ।
विमानस्थलबाट शवयात्रासहित पार्थिब शरीर श्रद्धाञ्जलीका लागि प्रज्ञाभवन लगिएकोमा त्यहाँ थामिनसक्नु भीड उर्लिएपछि शवयात्रा आर्यघाटतर्फ अघि बढेको थियो ।
प्रज्ञा भवनमा श्रद्धाञ्जलीका लागि उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम, संचारमन्त्री डा. मिनेन्द्र रिजाल, विभिन्न दलका नेता तथा कार्यकर्ताहरु, वरिष्ठ कलाकारहरु तथा हजारौंको संख्या स्वर्गीय श्रेष्ठका प्रशंसकहरु पुगेका थिए ।
तर प्रज्ञा भवनको भीड व्यवस्थापन गर्न संभव नभएपछि आर्यघाटमै श्रद्धाञ्जली दिने निर्णय गरिएको थियो । संचारमन्त्री रिजाल र विभिन्न दलका नेताहरु शव यात्रासहित पशुपति पुगेका थिए ।
त्यसअघि विमानस्थलबाट तीनकुने, नयाँ बानेश्वर, माइतीघर, पुतली सडक हुदै शव प्रज्ञा भवन ल्याउँदा बाटोमै हजारौं सर्वसाधारणले पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली ब्यक्त गरेका थिए ।
गत असार २३ मा नायिका श्वेता खड्कासंग विवाह बन्धनमा बाँधिएलगत्तै हनीमुनका लागि भन्दै उनीहरु भारततर्फ गएकोमा श्रेष्ठको निमोनिया बल्झिएपछि उपचारका लागि नयाँदिल्लीको गंगाराम अस्पतालमा भर्ना गरिएको थियो ।
२०४५ सालमा भूमरी चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका श्रेष्ठले नाता चलचित्रबाट पूर्ण नायकको भूमिका निर्वाह गर्न थालेका थिए ।श्रेष्ठले अभिनय गरेका ‘आफन्त’ ‘आफ्नो मान्छे’ ‘हामी तीनभाई’ ‘सुखदुख’ ‘कहाँ भेटिएला’, ‘कोहिनूर’ लगायत दर्जनौं चर्चित चलचित्र छन् । केही समययता चलचित्र निर्माण थालेका श्रेष्ठद्वारा निर्मित तथा अभिनित पछिल्लो चलचित्र कोहिनूर हो । जुन गएको शुक्रवारदेखि देशभर प्रदर्शन भईरहेको छ ।

Post a Comment