चालक अनुमति पत्र पैसा खुवाएर निकाल्नुभएको छ भने होसियार,
८ जेठ,
सवारी चालक अनुमति पत्र (लाइसेन्स) पैसा खुवाएर निकाल्नुभएको छ भने होसियार, तपाइँले अब कडा सजाय भोग्नुपर्ने हुनसक्छ। हाम्रै वरपर पनि सोझो तरिकाले लाइसेन्स निकालेका खासै देखिँदैनन्। कसैले पैसा खुवाएर सक्कली नै लाइसेन्स निकालेका छन्, कसैले काठमाडौँबाहिरबाट निकालेका छन्, कोही भने सक्कली भन्ठानेर नक्कलीको फन्दामा पनि परेका छन्। तर अब नक्कली लाइसेन्स निकाल्नेहरुको भने बाजा बज्नेवाला छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले नक्कली लाइसेन्स लिएर सार्वजनिक सवारी साधन चलाउनेलाई छ वर्ष जेल सजाय माग गर्दै कारबाही अघि बढाउने भएको छ। एक साताभित्रै दुई सार्वजनिक सवारी साधन चालकहरु नक्कली लाइसेन्ससहित पक्राउ परेपछि ट्राफिकले यस्तो कारबाही अघि बढाउने भएको हो। यसअघि पनि सवारी चालकहरु नक्कली लाइसेन्ससहित पक्राउ त परेका थिए, तर उनीहरु सार्वजनिक सवारी साधनका चालक थिएनन्। पहिलो पटक नक्कली लाइसेन्स लिएर सार्वजनिक सवारी साधन चलाउनेहरु भेटिएपछि ट्राफिक झस्किएको हो। यसले नक्कली लाइसेन्सवालाहरुको सञ्जाल कति व्यापक भइसक्यो भन्ने देखाएको छ। नक्कली लाइसेन्सधारी यस्ता सार्वजनिक सवारी साधन चालकले सर्वसाधारणको जनधनको क्षति गर्ने संभावना बढी हुन्छ।
ट्राफिकले गएको साता सोमबार र मंगलबार गरी दुई जना सार्वजनिक सवारी चालकलाई नक्कली लाइसेन्ससहित पक्राउ गरेको हो। ४० वर्षका रामकृष्ण भण्डारी नक्कली लाइसेन्स बोकेर एक वर्षदेखि ट्याक्सी चलाउँदै थिए। त्यस्तै नक्कली लाइसेन्ससहित पक्राउ पर्ने अर्का चालक पनि ‘राम’ नै हुन्- रामबहादुर अधिकारी। यिनी भने बनेपा-काठमाडौँ बस चलाउँथे। सार्वजनिक बस ! आम्मामा…कति धेरै मान्छेको जीवन यसमा जोडिएको हुन्छ। यी दुईले कतिलाई ‘राम-राम’ बनाउँथे होलान्। तर अहिले उनीहरु भक्तपुर जिल्ला अदालतको आदेशले न्यायिक हिरासतमा छन्। सरकारी छाप कीर्ते गरेको अभियोगमा उनीहरुलाई बढीमा ६ वर्षसम्मको जेल सजाय हुनसक्छ।
जे गरे पनि हुन्छ भन्ने मानसिकताका कारण यस्ता नक्कली लाइसेन्स बोक्नेहरु बढेका हुन्। नक्कली लाइसेन्स बेच्नेहरु त्यसैले उत्साहित भएका हुन्। यी दुई ‘राम’ त अहिले आफ्नो कसुरका कारण थुनामा छन्, यिनलाई नक्कली लाइसेन्स बेच्ने दलालहरु कहाँ रमाइरहेका होलान्। उनीहरुलाई पनि खोरमा लगेर जाक्न पाए पो बल्ल जरै उखेल्ने काम हुन्थ्यो।
Post a Comment