Sunday, August 10, 2014

दुई वर्षीय बालकबाट सर्‍यो इबोला भाइरस



वासिङ्टन : विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ) ले इबोला भाइरसविरुद्धको औषधि सन् २०१५ को मध्यदेखि उपलब्ध हुने सम्भावना रहेको जनाएको छ। डब्लूएचओसँग आबद्ध एक फ्रान्सेली अधिकारी जिन म्यारी ओकवोले अर्को महिनादेखि क्लिनिकल ट्रायल सुरु हुने जानकारी दिए। यो औषधि बेलायतको ग्लैक्सोस्मिथक्लाइन नामक कम्पनीले तयार गरिरहेको छ।


पश्‍चिम अफ्रिकामा द्रुत गतिमा फैलिरहेको इबोलालाई अमेरिकी अनुसन्धानकर्मीहरूले निर्दयी र डरलाग्दो भाइरसको संज्ञा दिएका छन्। भाइरसले नौ सयभन्दा बढीको ज्यान लिएपछि डब्लूएचओले अन्तर्राष्ट्रिय संकटकाल पनि घोषणा गरिसक्यो।
अमेरिकी स्वास्थ्यकर्मीको टोलीले दुई वर्षीय बालकबाट यो संक्रमण फैलिएको आशंका गरेको छ। गत डिसेम्बर ६ मा दक्षिणपूर्वी गिनीको गुचेकदो गाउँमा ती बालकको मृत्यु भएको थियो। यसको एक सातापछि उनकी आमाको मृत्यु भएको थियो। भाइरस संक्रमणमा उनको तीन वर्षीया बहिनी र दिदी पनि परे। यी सबै संक्रमितलाई बान्ता आउने, झाडा हुने र ज्वरो आउने गर्थ्यो।

अनुसन्धानकर्मीका अनुसार बालकका हजुरआमाको अन्तिम संस्कारमा पुगेका दुईजना गाउँले पनि भाइरसबाट संक्रमित भए। त्यति मात्र होइन ती संक्रमितको उपचार गर्न खटेका एक स्वास्थ्यकर्मी पनि आफैं बिरामी परे। यो वर्ष मार्च महिनासम्म इबोलाबाट गिनीमा दर्जनौं मानिसको मृत्यु भइसकेको खबर आयो।

संक्रमित मानिसको कारण यो भाइरस लाइबेरिया, सियरा लियोन र नाइजेरियासम्म पुग्यो। अहिलेसम्म संक्रमित भएका एक हजार सात सय ७९ जनामध्ये नौ सय ६१ जनाको मृत्यु भइसकेको छ। इबोलाबाट लड्न हजारौं स्वास्थ्यकर्मी आवश्यक पर्छ।

विशेषज्ञका अनुसार इबोला अन्य भाइरसजस्तो हावाबाट फैलिँदैन, तर संक्रमित व्यक्तिको सम्पर्कमा आउँदा फैलिने सम्भवना हुन्छ। यो भाइरस संक्रमित मानिसको रगत तथा शरीरका अरू तरल पदार्थबाट फैलिन्छ। यसको लक्षणका रूपमा सुरुमा रुघाखोकीजस्तो लाग्छ र बिस्तारै आँखा तथा गिजाबाट रगत बग्ने तथा आन्तरिक रक्तस्राव हुन्छ। इबोला भाइरस बाँदर, चमेराजस्ता जनावरबाट सरेर मानिसमा पुगेको बताइन्छ। यसअघि यो भाइरस सन् १९७६ मा देखिएको थियो। 
- एजेन्सी

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light