Monday, May 27, 2013

यसरी तुहियो राष्ट्रपतिको चीन भ्रमण चाहना

यसरी तुहियो राष्ट्रपतिको चीन भ्रमण चाहना
 १४ जेष्ठ,
                 दक्षिण पश्चिम चीनको कुनमिङमा आयोजना हुने पहिलो 'साउथ एसिया एक्स्पो' उद्घाटन समारोहमा राष्ट्रपति रामवरण यादवले सहभागिता जनाउने गरी परराष्ट्र मन्त्रालयले प्रक्रिया अघि बढाइसकेको थियो । गत अपि्रलमा आयोजक युनान प्रान्तकी उपगर्भनर ली जियाङ राष्ट्रपतिलाई निम्तो दिन काठमाडौं पुगेकी थिइन् ।तर समकक्षी सी जिनपिङसँगको भेट सम्भव हुन नसकेपछि राष्ट्रपति यादवको चीन भ्रमण चाहना तुहिएको छ । यादव अनिच्छुक देखिएपछि एक्स्पोमा उपराष्ट्रपति परमानन्द झालाई पठाउने तयारी सुरु भएको हो । कुनै सरकारी ओहदामा नरहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले गत अपि्रलमा चीन भ्रमण गर्दा राष्ट्रपति, उपराष्ट्रपति तथा उच्चपदस्थ चिनियाँ नेतृत्वसँग भेटवार्ता गरेका थिए ।
                    तर राष्ट्राध्यक्षका हैसियतमा रहेका यादव समकक्षीसँग भेट नहुने निश्चित हुँदाहुँदै चीन भ्रमणमा जानु पदीय मर्यादाविपरीत बुझाइ हुन सक्ने एक विश्लेषकको ठम्याइ थियो ।समकक्षीसँग भेटवार्ता मिलाई राष्ट्रपति यादवलाई चीन भ्रमण गर्ने सहज वातावरण बनाउन धेरै प्रयत्न भए पनि सी मुलुक बाहिर रहने भएकाले यस्तो सम्भावना टरेको चीनका लागि नेपाली राजदूत महेश मास्केले प्रस्ट्याएका छन् । 'चिनियाँ पक्ष समकक्षीहरूबीच भेटवार्ता गराउनुपर्ने कुरामा निकै सकारात्मक थियो,' राजदूत मास्केले भने, 'यसका लागि धेरै प्रयत्न भए पनि परिबन्दका कारण यसपटक सम्भव भएन ।' सीका अनुपस्थितिमा चीनले यादवलाई प्रधानमन्त्रीसँग लि खछ्याङसँग भेटवार्ता गराउने प्रस्ताव राखे पनि राष्ट्रपति कार्यालयले यसलाई सकारात्मक रूपमा नलिएको स्रोतले बतायो ।
         चिनियाँ राष्ट्रपति सीले आगामी जेठ १७ देखि २३ सम्म कोस्टारिका, मेक्सिको, त्रिनिदाद र टोबेगोको राजकीय भ्रमण गर्ने तय भएको छ । चार मुलुकको भ्रमणलगत्तै जेठ २४ र २५ मा सी अमेरिका हुने 'क्यालिफोर्निया समिट' मा भाग लिनेछन् । समिटकै दौरान सीले अमेरिकी समकक्षी बाराक ओबामासँग महत्त्वपूर्ण भेटवार्ता गर्नेछन् । नेतृत्व सम्हालेपछि दुवै नेताको यो पहिलो भेट हुनेछ ।राष्ट्रपति यादवले सन् २०१० अक्टोबरमा चीनको मैत्रीपूर्ण सद्भावना भ्रमण गरेका थिए । सांघाई एक्स्पो समापन समारोहमा सहभागी उनको तत्कालीन प्रधानमन्त्री वेन जियाबाओसँग आयोजना स्थलमै शिष्टाचार भेटवार्ता भएको थियो ।
           उतिबेलै राजकीय भ्रमणको निम्तो पाएका यादवलाई त्यसको अवसर भने जुर्न सकेको छैन । राष्ट्रपति यादवले यसपटक पनि एक्स्पोमा मात्र सहभागी भई फिर्ता हुनु सान्दर्भिक नहुने ठानेको स्रोतले बतायो । पछिल्ला चार वर्षमा तीनपटक दिल्ली धाइसकेका राष्ट्रपति यादवलाई अहिलेसम्म बेइजिङ पुग्ने अवसर मिलेको छैन ।
-kantipur

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light