७ जेठ,
स्पेनिस जाइन्ट रियल मड्रिडले प्रशिक्षक जोजे माउरिन्होले यो सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा गरेको छ । सम्झौता भन्दा २ वर्ष अघि नै रियल छाड्न लागेका ५० वर्षीय स्पेसल वान माउरिन्हो इङ्ग्लिस क्लब चेल्सी फर्कने बताइएको छ । रियलले भने चेल्सीले बर्खास्त गरेपछि फ्रान्सको पेरिस सेन्ट जर्मनलाई १९ वर्षपछि लिग १ को उपाधि दिलाएका कार्लो एन्सेलोटीलाई भित्र्याउन पहल गरिरहेको छ ।रियल मड्रिडका प्रमुख फ्लोरेन्टिनो पेरेसले माउरिन्होलाई बर्खास्त गर्न लागेको नभई आपसी सहमतिलाई नै क्लब छाड्न लागेको बताएका छन् । रियल मड्रिडले ला लिगामा २ खेल खेल्न बाँकी छ । अन्तिम खेल जुन १ मा आसासुनाविरुद्ध छ ।
३ वर्ष रियल मड्रिडको प्रशिक्षक रहेको माउरिन्हाले २ उपाधि दिलाए । २०११ मा कोपा डेल रे जिताएका उनले २०१२ मा बार्सिलोनाबाट ला लिगाको उपाधि खोसे । तर, यो सिजन उनका लागि खराब रह्यो । ला लिगा बार्सिलोनालाई सुम्पिएको रियल मड्रिड कोपा डेल रेको फाइनलमा घरेलु प्रतिद्वन्द्वी एथ्लेटिको मड्रिडसँग स्तभ्द भयो । जर्मन साइड बोरुसिया डर्टमुण्डसँग हारेपछि च्याम्पियन्स लिगको सेमिफाइनलबाटै बाहिरियो ।
५ देशको क्लबलाई राष्ट्रिय लिग जितेका माउरिन्होले इङ्ग्ल्याण्डमा आफूलाई माया गर्नेहरु भएको बताउँछन् । स्पेनमा भने उनको समर्थकसँगै आलोचकको संख्या पनि उत्तिकै छ । विरोधीहरुले माउरिन्होमाथि स्पेनको फुटबललाई कुरुप बनाएको आरोप लगाउने गरेका छन् ।
Post a Comment