पेरिस : पेरिसमा साउदी राजकुमारको मोटरहरूको समूहमाथि सशस्त्र लुटेराले आक्रमण गरी दुई लाख ५० हजार युरो नगदका साथ संवेदनशील कागजात लुटेको जानकारी फ्रान्सेली प्रहरीले दिएको छ। आइतबार राति पेरिसको उत्तरी भागमा यो लुटपाटको घटना भएको हो।
साउदी राजकुमारको गाडीहरूको समूह साँझ एलिजेस्थित सुविधासम्पन्न होटेलबाट विमानस्थल ल बुर्गेटतर्फ गइरहेको जानकारी प्रहरीले दिएको छ। यो घटनामा कोही पनि घाइते नभएको बताइएको छ। दुईवटा बीएमडब्लु गाडीमा आएका ती लुटेराको संख्या पाँचदेखि आठ रहेको बताइएको छ।
उनीहरूले १० वटा गाडीको समूहका पहिलो गाडीलाई अपहरण गरी पछि उनीहरूलाई छाडिदिएको प्रहरीले जानकारी दिएको छ। प्रहरी स्रोत तथा ल पारिजियाँ दैनिकले लुटेरासँग कालास्निकोभ बन्दुक भएको उल्लेख गरेको छ। एक अधिकारीले पछि यी लुटेरासँग हाते बन्दुक भएको बताए।
साउदी राजकुमारको मर्सिडिज र लुटेराहरूको बीएमडब्लु पेरिसको उत्तरपूर्वी भागमा अवस्थित सेन्ट मेसमेस गाउँको एक स्थानमा जलाइएको रूपमा फेला पारिएको थियो। प्रहरीले ५ सय युरोका दुई नोट, अरबी भाषाका कागजात तथा औषधि जलेको गाडी नजिकै फेला पारेका थिए।
ल पारिजियाँले लुटेराहरूले संवेदनशील कागजात आफूसँग लगेको जानकारी दिएको छ। अनुसन्धानमा नजिकका स्रोतले लुटेराले कूटनीतिक कागजात लुटेको बताए। हालसम्म ती कागजातको प्रकृतिको विषयमा विस्तृत विवरण थाहा हुन सकेको छैन। यो विषयमा पेरिसस्थित साउदी दूतावासले केही पनि बोलेको छैन।
फ्रान्सेली विदेश मन्त्रालयका प्रवक्ता रोमेन नादालले यो विषयमा अनुसन्धान भइरहेको जानकारी दिए। यो असामान्य आक्रमण भएको, लुटेराहरूलाई यो विषयमा पूर्ण जानकारी भएको र यस्तो कार्य गर्न निकै कठिन हुने एक प्रहरी स्रोतले बताएको छ।हाल सम्म यो विषयमा कसैलाई पनि पक्राउ गरिएको छैन।
फ्रान्सको राष्ट्रिय प्रहरी युनियनका प्रमुख निकोलस कोम्टले लुटेराले पैसा वा कागजात के लुट्न खोजेको भन्ने विषयमा थाहा पाउनुपर्ने बताए। उनले यो विषयमा साउदी अधिकारीबाट पूर्ण सहयोग प्राप्त हुने अपेक्षा गरिएको बताए। -रासस/एएफपी

Post a Comment