काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले हालै गरेको निर्णयले नेपाली फुटबलमा नयाँ तरंग ल्याएको छ। नयाँ सिजनको सुरुआतसँगै खेलाडी अनुबन्धन, क्लब दर्तालगायतका गतिविधिलाई थाती राखेर एन्फा राष्ट्रिय लिग सञ्चालन गर्ने अभियानमा जुटेको छ।
एन्फाको हालै बसेको कार्यकारिणी समितिको बैठकले २०७१ सालमा सहिद स्मारक 'ए' डिभिजन लिग नगर्ने निर्णय लिँदै राष्ट्रिय लिगको अवधारणा अघि सारेको हो। एन्फाको पछिल्लो महत्त्वाकांक्षी निर्णयले 'ए' डिभिजनमा रहेका क्लबहरू सशंकित भएका छन्।
दशरथ रंगशाला मर्मत सम्भारको कारण देखाउँदै 'ए' डिभिजन लिग नगर्ने निर्णय लिइएको एन्फाको दाबी छ। राष्ट्रिय लिगका लागि सबै विकास क्षेत्रबाट प्रतिनिधित्व हुने गरी मोरङ, सुनसरी, झापा, कास्की, रूपन्देही, बाँके, कैलाली, मकवानपुर र पर्सालाई 'ए' डिभिजनको मान्यता दिएर त्यहाँबाट आउने चारदेखि ६ टोली तथा २०७० सालको सहिद स्मारक रेडबुल 'ए' डिभिजनमा सुपर सिक्समा रहेका ६ गरी १२ टोलीबीच होम एन्ण्ड अवेका आधारमा प्रतिस्पर्धा गराउने एन्फाको योजना छ।
एन्फाको पछिल्लो निर्णयले 'ए' डिभिजनका अन्य क्लब (सुपर सिक्समा नरहेका) र हालैमात्र 'ए' डिभिजनमा बढुवा भएको ब्रिगेड ब्वाइज क्लबसमेत दु:खी बनेको छ। 'हचुवाको भरमा आएको निर्णयलाई के भन्ने? एन्फाको नीति, काम गराइको प्रक्रिया र सोच नै अनौठो छ। सुपर सिक्कमा नरहेका क्लबलाई एन्फाले फुटबल नखेलाएर के खेलाउला अब?', फ्रेन्ड्सका अध्यक्ष रत्नशमसेर राणा भन्छन्।
भएका क्लब र खेलाडीलाई थाती राखेर केही जिल्लालाई समेटी होम एन्ड अवेका आधारमा राष्ट्रिय लिग गर्ने भन्ने निर्णय हल्का रूपमा गरिएको उनको दाबी छ। 'हामी त एउटा निजी क्लब भयौं, तर विभागीय टोली त्रिभुवन आर्मी क्लब पनि सुपर सिक्समा छैन। उसका बारेमा एन्फाले कस्तो सोच राखेको छ थाहा छैन', राणाले भने। राष्ट्रिय लिगबाट वञ्चित हुने क्लबहरू बसेर यस्ता विषयमा छिट्टै छलफल गर्ने जानकारी पनि राणाले दिए।
हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाले एन्फाको कार्यशैली नीति, विधान र प्रक्रिया विपरीत भएकाले आफूहरू विधि र विधान कार्यान्वयन गर्ने प्रक्रियाको लडाइँमा रहेको बताए। 'कहिले क्लबले चाहे भने 'ए' डिभिजन लिग हुने भन्ने सुनिन्छ। कहिले राष्ट्रिय लिग गर्ने भन्ने सुनिन्छ। एन्फाका हरेक निर्णय एकजना व्यक्तिको हठ र हचुवाको भरमा हुन्छ', उनले भने। एन्फाका उपाध्यक्ष समेत रहेका कर्माछिरिङ, अर्का उपाध्यक्ष विजयनारायण मानन्धर र किशोर राई तथा सदस्य पंकज नेम्वाङले एन्फाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बैठक बहिष्कार गर्दै आएका छन्।
सुपर लिगमा मनाङ मर्स्याङदी, मच्छिन्द्र, थ्रीस्टार, नेपाल पुलिस, संकटा र एपीएफ क्लब छन्। गत वर्ष हिमालयन शेर्पा सातौं, फ्रेन्ड्स आठौं, सिम्रिक सरस्वती नवौं, त्रिभुवन आर्मी १० औं र जाउलाखेल ११ औं स्थानमा थिए। ब्रिगेड ब्वाइज हालै सम्पन्न 'बी' डिभिजन लिग च्याम्पियन बन्दै 'ए' मा बढुवा भएको हो। आरसीटी र ब्वाइज युनियन रेलिगेसनमा परेका थिए। एन्फाले 'बी' र 'सी' डिभिजनलाई गाभेर 'बी' डिभिजन लिगमात्र गर्ने निर्णय पनि गरेको छ। फुटबल विकासको आधारशिलाको रूपमा लिइने लिगको संरचनामा वर्षेनि नयाँ प्रयोग गरिँदै आएको छ। एन्फाले पछिल्लो तीन वर्षमा मात्र तीन तरिकाले लिग सञ्चालन गरेको छ। २०६८ सालमा काठमाडौं, पोखरा र बुटवलमा राष्ट्रिय लिग सञ्चालन गरेको एन्फाले सोही वर्ष राष्ट्रिय लिग अफाप भएको घोषणा गरेको थियो।
यसैगरी २०६९ सालमा सुपर आठ टोलीलाई दोहोरो लिग खेलाएको एन्फाले २०७० सालमा पुन:६ टोलीलाई दोहोरो लिग खेलाएको थियो। 'ए' डिभिजन लिगका लागि मात्र एन्फा र क्लबको गरी झन्डै २० करोड रुपैयाँभन्दा बढी लगानी हुँदै आएको छ।

Post a Comment