Sunday, May 26, 2013

कस्तो होला एप्पलको आइवाच?

Click to enlarge image iwatch-candy-colors.jpg                    त्यो जमाना रहेन जब मानिस समयका लागि घडी मै भर पर्नुपर्थ्यो। अब त टक्क स्मार्टफोन निकाल्यो, त्यसैमा समय हेर्न सजिलो। स्मार्टफोनै चाहिन्छ भन्ने पनि केही छैन, बजारमा पाइने सस्तोभन्दा सस्तो मोबाइलमा पनि समय सूचक भइहाल्छ। त्यसैले नाडी हेर्ने पुरानो पुस्तालाई गोजी छाम्ने अहिलेको पुस्ताले गिज्याइसक्यो। तर नाडीे पुस्तालाई नै पछ्याउनु पर्ने गरी स्मार्ट घडीहरुको विकास हुँदैछ अहिले। क्राउडफन्डिङ वेबसाइटमा चन्दा उठाएर बनाइएको स्मार्टवाचदेखि लिएर बजारमा आइसकेको सोनीको स्मार्टवाचसम्म हेर्दा कुनैले पनि स्मार्टवाचको क्षेत्रमा खासै केही गर्न सकेका छैनन्। बजारले यस्ता घडीलाई खासै रुचाएको देखिएको पनि छैन। के हरेक प्रडक्ट बजारमा ल्याउँदा ठूलै हल्लाखल्ला हुने ब्रान्ड भएकै कारण एप्पलको स्मार्टवाचले केही फरक गर्ला? हेर्न बाँकी छ। उत्सुकता बाँकी छ र उसले ल्याउने स्मार्टवाचमा चाहिँ खासै त्यस्तो अरुमा नभएका के विशेषता हुनेछन् भन्नेमा अनुमान पनि जारी नै छ।
          एप्पलले नाडीमा लगाउने स्मार्टवाच बनाउने योजना बनाउँदैछ भन्ने जानकारी न्युयोर्क टाइम्सले गत फेब्रुअरीमा गराएदेखि नै यस्तो अनुमान बढ्न थालेको हो। एप्पलसँगै अहिले गुगल, सामसुङ र माइक्रोसफ्टले समेत यस्तै खालका स्मार्ट वाच बनाउने भनिसकेको छन्।

कहिले आउला त यो?
एप्पलको आइवाच सन् २०१३ को अन्त्यसम्मा बजारमा आउने अनुमान धेरैले गरेका छन्। आइवाचका लागि एप्पलले आरआइटी डिस्प्ले बनाउन थालिसकेको बताइएको छ।आइफोन, आइप्याडका लागि एप्पलले एलसिडी अर्थात् लिक्विड क्रिस्टल डिस्प्लेज प्रयोग गरेको भए पनि आइवाचका लागि ओलेड अर्थात अर्गानिक लाइट एमिटिङ डायड स्क्रिन प्रयोग गर्नसक्ने अनुमान गरिएको छ। के फाइदा हुन्छ त यसले? यो ज्यादै पातलो र हलुका हुन्छ।हुन पनि आइफोन जस्तो गोजीमा वा आइप्याड जस्तो ब्यागमा राख्ने चिज आइवाच पक्कै हैन। यसलाई त नाडीमा बाँध्नुपर्छ। नाडीमा बाँधेर हरदम आफूसँगै राख्नुपर्ने भएकोले यो जति पातलो र हलुका भयो, उति उपयोगकर्तालाई सरल र सहज हुन्छ।
                आइवाचको स्क्रिन चाहिँ कत्रो हुन्छ त? पक्कै पनि नाडीमा बाँध्ने चिजको स्क्रिन धेरै ठूलो भयो भने गाह्रो हुन्छ। त्यही भएर सुरुमा एप्पलले १.८ इञ्चको डिस्प्लेको परीक्षण गरिरहेको भए पनि ज्यादै ठूलो देखिएको भएर अहिले साढे एक इञ्चमा परीक्षण गर्दैछ। त्यसमा चित्त नबुझे स्क्रिन अझै सानो हुनसक्छ।
के के होला त यसमा?
स्मार्टवाच भनेपछि यसमा घडी त हुनैपर्यो। अनि त्यसलार्ए चलाउन ब्याट्री पनि हुनै पर्यो। फोन गर्न वा डाटा चलाउन नहुने भए त के स्मार्टवाच भयो र। त्यसो गर्न सानो सेल्युलर एन्टिना हुनै पर्यो। त्यसो त एप्पलले सानो खाले माइक्रोस्ट्रिप सेल्युलर एन्टिनाको प्याटेन्ट दर्ता गरिसक्यो। यसलाई नाडी घडी साइजको आइवाचभित्रै जडान गर्न सकिन्छ।
बाँध्ने केले?
भनिन्छ एप्पललाई सबैभन्दा समस्या अहिले आइवाचलाई नाडीमा बाँध्नका लागि के प्रयोग गर्नेमा भइरहेको छ। धेरैजसो घडी निर्माताहरुले त नाडीमा बाँध्न धातुकै प्रयोग गरिरहेका छन्। तर एप्पलले भने कम वजन हुने धातुको प्रयोग गर्ने बुझिएको छ। यसले आइवाचलाई महँगो र सँगसँगै विलासी सामान पनि बनाइदिनेछ। कम आय भएको बजारका लागि भने एप्पलले सस्तो, इन्टरचेन्जेबल छालाको वाचस्ट्रयाप प्रयोग गर्न सक्छ। छैटौँ जेनेरेसनको आइपड नानोका लागि पनि त्यस्तै प्रयोग गरिएकोले आइबीटाइम्सले यस्तो अनुमान गरेको हो।
कस्तो देखिनेछ त आइवाच?
यस्तै देखिनेछ भनेर अहिले नै भन्न सकिन्न। एप्पलले आइवाच डिजाइन गर्न सय जना प्रडक्ट डिजाइनरहरुको समूहलाई काममा खटाइसकेको छ। यसको स्वरुप यस्तै नै देखिन्छ भनी अहिले नै भन्न सकिन्न। तपाइँले यही लेखसँगै देखिरहनुभएका डिजाइनहरु पनि यस्तो होला कि भन्ने कल्पना मात्र हो। कल्पना पनि अजब गजबका छन्। कसैले घडीबाटै फेसटाइममार्फत् भिडियो च्याटमा कुरा भइरहेको कल्पना गरेका छन्। त्यस्तो हुन आइवाचमा फ्रन्ट क्यामेरा हुनु आवश्यक छ। नाडीमा बाँध्ने भएकोले ब्याक क्यामेरा त किन हुनुपर्यो र।
(एजेन्सीहरुको सहयोगमा)

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light