Saturday, May 25, 2013

शिक्षक परीक्षाको नतिजा कात्तिकसम्म आउने

शिक्षक परीक्षाको नतिजा कात्तिकसम्म आउने 

सृजनात्मक प्रश्न भएकाले परीक्षा मर्यादित

१२ जेठ, काठमाडौं 
                     स्थायी शिक्षकको लागि भएको परीक्षाको नतिजा कात्तिकसम्म सार्वजनिक हुने भएको छ । शिक्षक सेवा आयोगका अनुसार परीक्षा सकिए लगत्तकै कापी परीक्षण गरी नतिजा सार्वजनिक गर्ने तयारी भएको हो । ‘कात्तिकसम्म लिखित परीक्षाको नतिजा सार्वजनिक गरी मौखिक परीक्षा पनि सम्पन्न भैसक्नेछ’ आयोगका प्रशासकीय प्रमुख खगेन्द्रप्रसादन नेपालले अनलाइनखबरसित भन्नुभयो । बिहीबारदेखि शुरु भएको लिखित परीक्षा शनिबार सम्पन्न भएको हो । माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहमा गरी कूल १३ हजार ५९ पदको लागि चारलाख ८० हजारभन्दा धेरैको आवेदन परेको छ । शिक्षक सेवा आयोग गठन भएपछिको पहिलोपटक शिक्षक छनोटको लागि परीक्षा भएको हो । यसअघि २०५२ सालमा जिल्लास्तरीय शिक्षक छनोट समितिले खुला प्रतियोगिताका लागि लिखित परीक्षा लिएको थियो ।

परीक्षा मर्यादित

                    विद्यार्थीलाई जाँचमा कडाई गर्ने शिक्षकले समेत परीक्षामा अमर्यादित काम गर्न सक्ने आयोगले आशंका गरेको थियो । जसअनुसार आयोगले परीक्षामा निकै कडाई पनि गर्यो । तर परीक्षा सोचेभन्दा पनि बढी मर्यादित र व्यवस्थित भएको आयोगले जनाएको छ । ‘परीक्षा निकै शान्तिपूर्ण रुपमा सम्पन्न भयो, शिक्षकहरुको परीक्षा भएकाले पनि यसो भएको हुनुपर्छ’ नेपालले भन्नुभयो । त्यसमाथि आयोगले प्रश्नपत्र पनि चोर्न र सार्न नमिल्ने गरी बनाएको थियो । आफैंले मौलिक र सृजनात्मक ढंगले लेख्नपर्ने प्रश्न आएकाले नक्कल गर्ने अवस्था पनि नभएको परीक्षार्थीले बताएका छन् । आयोगले परीक्षामा अनियमित काम गर्नेलाई ६ महिनासम्म कैद र एकलाख रुपैंयासम्म जरिवाना गर्ने नियम बनाएको थियो । परीक्षाहलमा पुस्तक, नोटकपी, चिट, मोवाईल फोन लगायतका प्रतिबन्धित सामग्री लगेको भेटिएमा त्यस्ता परीक्षार्थीलाई निष्कासन गर्न आयोगले सम्बन्धित परीक्षा समन्वय समितिलाई निर्देशन दिएको थियो । तर परीक्षा अनुशासित रुपमा सम्पन्न भएकाले यस्तो कार्वाही गर्न नपरेको आयोगले जनाएको छ ।

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light