वैशाख ६-
एसियाली क्रिकेट परिषद् (एसीसी) को कार्यक्रमअनुसार यही वैशाख २० गतेदेखि मलेसियामा सञ्चालन हुने एसीसी यु-१९ क्रिकेट प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले २० खेलाडी छनोट गरेको छ। उत्कृष्ट खेलाडी तयार गरी नतिजा आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ क्यानले केही दिनअघि सुरु गरेको पहिलो बन्द प्रशिक्षण शिविरमा सामेल भएका ३१ जनामध्ये २० जना क्रिकेटर छनोट गरेको हो। क्यानका सचिव ठाकुर पहाडीका अनुसार पहिलो चरणबाट छानिएका २० खेलाडीलाई दोस्रो चरणको बन्द प्रशिक्षणमा राखी त्यसमध्येबाट उत्कृष्ट १४ र वैकल्पिक चारसहित १८ खेलाडी छनोट गरी प्रतियोगिताको लागि तयार पारिने छ।
दोस्रो बन्द प्रशिक्षण हिजैदेखि त्रिभुवन विश्वविद्यालयस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा सुरु भइसकेको छ। पहाडीका अनुसार दोस्रो चरणको बन्द प्रशिक्षणका लागि छनोटमा पर्न सफल २० खेलाडीमा अमित दाहाल, अविनाश कर्ण, रामनरेश गिरी, अमित श्रेष्ठ, इर्शाद अहमद, सुरजकुमार कुर्मी, शरद खड्का, पवन श्रेष्ठ, विभत्सु थापा, निर्मल थापा, सुशान्त भारी, इमाउद्दीन हलवाई, प्रेम तामाङ, भुवन कार्की र यज्ञमान कुमाल रहेका छन्। त्यसैगरी अर्जुन चापागाईं, राहुलप्रताप सिंह, अभिषेक झा, हरिशंकर शाह र निश्चल पाण्डे पनि छनोटमा परेको क्यानले जनाएको छ। यु-१९ पुरुष खेलाडीलाई राष्ट्रिय प्रशिक्षक जगत टमाटाले प्रशिक्षण प्रदान गर्नुभएको छ। टमाटाका अनुसार यसपटकको प्रतिगोगितामा नेपालले उत्कृष्ट नतिजा हात पार्न निकै कडा मिहेनत गर्नुपर्ने छ। उहाँ भन्नुहुन्छ, "यो प्रतियोगितामा भाग लिने अधिकांश नेपाली खेलाडी नवप्रवेशी छन्।"
प्रशिक्षक टमाटाका अनुसार विगतका प्रतिस्पर्धामा सहभागी रहेका धेरै खेलाडी यतिबेला सिनियर राष्ट्रिय टिममा सम्मिलित छन्। कतिपय खेलाडी १९ वर्षमाथि भएकाले टिममा सामेल गराउन नसकिएको टमाटाले बताए। प्रतियोगितामा जित हात पार्ने टिमले यु-१९ विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ। रासस
प्रशिक्षक टमाटाका अनुसार विगतका प्रतिस्पर्धामा सहभागी रहेका धेरै खेलाडी यतिबेला सिनियर राष्ट्रिय टिममा सम्मिलित छन्। कतिपय खेलाडी १९ वर्षमाथि भएकाले टिममा सामेल गराउन नसकिएको टमाटाले बताए। प्रतियोगितामा जित हात पार्ने टिमले यु-१९ विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ। रासस
Post a Comment