Saturday, September 29, 2012

सहरियाको मुटु जोखिममा


exerciseआश्विन १३ - 
         पत्याउनुहुन्छ, नेपालको एक चौथाइ युवा जनसंख्यामा उच्च रक्तचाप छ । यो समस्या उमेरसँगै बढ्दो क्रममा छ । अर्थात्, सहरिया जीवनशैली मुटु रोगको कारक जस्तै भएको छ । यति मात्र नभई, उच्च रक्तचाप भएका ६० प्रतिशत नेपालीलाई आफू उच्च रक्तचापबाट पीडित रहेको थाहा समेत छैन । जीवनशैली सम्बन्धी सकारात्मक परिवर्तन, तनाव नियन्त्रण, नियमित व्यायाम र उपयुक्त आहारले मुटु रोग, हृदयाघात हुने सम्भावनामा निकै कमी ल्याउने विशेषज्ञहरू बताउँछन् । '१८ वर्षमाथिका २० देखि २५ प्रतिशतसम्म युवा जनसंख्यामा उच्च रक्तचापको समस्या छ,' सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका मुटु रोग विशेषज्ञ डा. दिवाकर शर्मा केही वर्षअघि केन्द्रले गरेको अध्ययनलाई औंल्याउँदै भन्छन्, 'उनीहरूमा यो समस्या उमेरसँगै बढ्दो क्रममा छ ।' ६० प्रतिशत नेपाली आफू उच्च रक्तचापबाट पीडित रहेको समेत थाहा नभएको उनी बताउँछन् ।
विगत केही वर्षमा सहरी क्षेत्रमा आर्थिक सम्पन्नता, आधुनिकीकरण लगायत कारणले नेपाली समाजको जीवन शैलीमा व्यापक परिवर्तन आएको छ । साथै मुटु रोगमा समेत वृद्घि देखिएको ठम्याइ केन्द्रकै निर्देशक डा. मनबहादुर केसी गर्छन् । उनका अनुसार, शारीरिक व्यायामको अभाव, निष्त्रिmय जीवन शैली, अत्यधिक तनाव र खानपानको नराम्रो बानीले नेपालको सहरी क्षेत्रमा मुटु रोगको खतरा निम्तिरहेको छ । 'सहरी क्षेत्रमा अत्यन्त तनाव छ, तीव्र प्रतिस्पर्धाले समेत उच्च रक्तचाप निम्त्याइरहेको छ,' उनी भन्छन्, 'सम्पन्नता मात्र नभई सहरिया क्षेत्रमा भएको चरम विपन्नताले समेत यस्ता वर्गमा उच्च रक्तचापको समस्या बढाउँदै छ ।' 'युवालाई आपmनो स्वास्थ्यबारे सोच्ने समेत फुर्सत छैन,' नर्भिक इन्टरनेसनल हस्पिटलका मुटु रोग विशेषज्ञ डा. भारत रावत भन्छन्, 'युवाहरूमा तनाव अत्यन्त बढेको छ । उनीहरू बाहिरको अस्वस्थकर खानामा निर्भर छन् । धूमपान, मद्यपानको फेसन हुनुका साथै सकारात्मक जीवन शैलीको अभाव मुटुलाई थेग्नुपर्दा यस्तो स्थिति देखिएको हो ।'
सहरी क्षेत्रमा समेत उच्च रक्तचाप भएकाहरू आफ्नो शारीरिक अवस्थाबाट अनभिज्ञ रहेको स्थिति छ । 'उच्च रक्तचाप भएकाहरूमध्ये २६ प्रतिशतले उपचार गराउने अध्ययन छ,' डा. शर्मा भन्छन्, 'उपचार गराउनेहरूमध्ये मात्र ६ प्रतिशतको रक्तचाप नियन्त्रणमा छ ।' अनियन्त्रित उच्च रक्तचाप हाल सहरी क्षेत्रमा देखिने गरिएको ब्रेन एट्याक अर्थात् मस्तिष्काघातको यही प्रमुख कारण रहेको उल्लेख गर्दै डा. शर्मा उच्च रक्तचापका रोगीहरूमध्ये ९४ प्रतिशतको रक्तचाप नियन्त्रणमा नरहेको दुःखद् स्थिति उनी औंल्याउँछन् ।
१८ वर्षदेखि ३० वर्षसम्मका नेपालीले तीन वर्षदेखि पाँच वर्षमा एक पटक मुटु रोग विशेषज्ञसँग जचाउनुपर्ने डा. शर्मा बताउँछन् । यस्तै, ३० देखि ४० वर्षकाहरूले वर्षेनि र ४० वर्षमाथिकाले भने प्रत्येक तीन/चार महिनामा आपmनो रक्तचाप जचाउँदै गर्नुपर्ने उनको सल्लाह छ । भोजन, व्यायाम, मोटोपना, तनाव लगायत कारक तत्त्वलाई वैज्ञानिक तवरले नियन्त्रित गरेर मुटु रोगको जोखिममा आधाभन्दा कम गर्न सकिने डा. केसी बताउँछन् ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनील उच्च रक्तचापको जोखिममा रहेका सहरियाहरूलाई खानपानमा समेत विशेष ध्यान दिनुपर्ने बताउँछन् । पोटासियम युक्त खानेकुराले रक्तचापलाई घटाउने भएकोले सुन्तला, कागती, मौसम, केरा जस्ता उच्च पोटासियमयुक्त फलफूलहरू रक्तचाप पीडितका लागि लाभदायक हुने डा. ओम बताउँछन् । 'उच्च रक्तचाप भएकाहरूले धूमपान र मदिरा सेवन पटक्कै गर्नुहुन्न,' उनी भन्छन्, 'हामीकहाँ पुग्ने मस्तिष्काघातका अधिकांश पीडितहरूमा उच्च रक्तचापसँगै उनीहरू मदिरा सेवन गर्ने गरेका पाइन्छन् ।'
खानामा नुन थपेर खानु नहुने औंल्याउँदै डा. ओम भन्छन्, 'नुन पटक्कै नखाएर उच्च रक्तचाप घटाउनु राम्रो मानिन्न । दिनहुँ तीन ग्रामदेखि पाँच ग्रामसम्म खान मिल्छ । तर यसबाहेक अतिरिक्त खानु हँुदैन ।' नुन खाँदै नखाएर रक्तचाप घटाउने प्रक्रियाले शरीरलाई उल्टै नोक्सान गर्न सक्ने उनी बताउँछन् । प्रत्येक दिन फलफूल दुई पटक, तरकारी तीन पटक खाने गर्नाले रक्तचाप नियन्त्रणमा राख्न सहयोग मिल्ने उल्लेख गर्दै उनी फास्ट फुड लगायत उच्च मात्रामा नुन भएको पि्रजरभेटिभ राखिएको बट्टामा भएका खानेकुराहरूबाट जोगिने सल्लाह दिन्छन् । छाती कसरी दुख्दा चिकित्सककहाँ पुग्ने डा. रावतका अनुसार मधुमेह, उच्च रक्तचाप, धूमपान, उच्च कोलेस्ट्रोल, मुटु रोग भएको पारिवारिक इतिहास भएका र उमेरको चार दशक नाघिसकेकाहरूलाई भर्‍याङ चढ्दा, वा गर्‍हौं काम गर्दा छातीमा फरक प्रकारको असजिलोपन, पीडा, जलन, भारीपन भयो र आराम गर्दा सन्चो अनुभव हुन्छ भने चिकित्सककहाँ गइहाल्नुपर्छ ।
'यस्तो पीडा घाँटीदेखि नाइटोसम्म कुनै पनि भागमा हुन सक्छ,' डा. रावत भन्छन् । अचानक छाती भारी हुने, डल्लो पर्ने वा अत्यधिक पीडा हुने, पसिना आउने, एक्कासि मन डराउने, स्वाँस्वाँ हुने गरे तुरुन्त दुई चक्की एस्पि्रन खाएर चिकित्सककहाँ जानुपर्छ ।
नियन्त्रणका उपाय
-    धूमपान र मद्यपान नगर्ने -    मोटोपना घटाउने -    नुन दिनहुँ एक चम्चाभन्दा बढी नगर्ने -    पसिना बग्ने गरी नियमित व्यायाम गर्ने -    खानामा क्याल्सियम, पोटासियम र म्याग्नेसियमको मात्रा बढाउने -    दिनहुँ राम्ररी निदाउने     -    तनावबाट जोगिने  -    बिहानबिहान घुम्ने   -    सकारात्मक सोच राख्ने

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light